कास्कीको माछापुच्छ्रे गाउँपालिका यतिबेला खेलकुदमय बनेको छ। चैत ११ नजिकिँदै जाँदा लाहाचोकस्थित खेल मैदानमा चहलपहल बढ्दै गएको छ। स्थानीय युवा देखि खेलप्रेमीहरूसम्म सबैको ध्यान अहिले ‘अध्यक्ष कप भलिबल प्रतियोगिता’मा केन्द्रित भएको छ।
गाउँपालिकाको खेलकुद विकास समितिको आयोजनामा हुन लागेको चौथो संस्करणको गण्डकी प्रदेश स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसपटक खेल मात्र नभई गाउँपालिकाको पहिचान, ऊर्जा र सम्भावनाको प्रतीकका रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रतियोगिताप्रति बढ्दो उत्साह झल्किने गरी हालसम्म पुरुषतर्फ १६ र महिलातर्फ ८ टोलीले नाम दर्ता गरिसकेका छन्। आयोजकहरूले अन्तिम समयसम्म अझ बढी टोली सहभागी हुने विश्वास व्यक्त गरेका छन्।
गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले खेलकुदलाई प्रतिस्पर्धामात्र नभई विकासको माध्यमका रूपमा लिने गरिएको बताउनुभयो। उहाँका अनुसार यस प्रतियोगिताले गाउँपालिकाभित्र खेलकुद संस्कृतिलाई मजबुत बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा आकर्षक पुरस्कार राशिको व्यवस्था गरिएको छ। पुरुषतर्फ विजेताले २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने दुई टोलीलाई जनही २५/२५ हजार रुपैयाँ प्रदान गरिनेछ।
यस्तै महिलातर्फ विजेताले ६० हजार रुपैयाँ, उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने दुई टोलीलाई जनही १५/१५ हजार रुपैयाँ प्रदान गरिने गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिनुभयो।
यस वर्षको विशेष आकर्षणका रूपमा ‘पुरुष छेलो’ प्रतियोगिता पनि समावेश गरिएको छ। स्थानीय स्तरमा लोकप्रिय यस खेलले प्रतियोगितामा थप रोचकता ल्याउने तथा स्थानीय संस्कृति र परम्पराको संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ। छेलोतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेले क्रमशः १० हजार, ५ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने यसतर्फ दर्ता निःशुल्क राखिएको छ।
प्रतियोगितामा पुरुष तथा महिला भलिबलतर्फ विभिन्न विधामा उत्कृष्ट खेलाडी, स्पाइकर, मिडिल ब्लकर, डिफेन्डर, सेटर, सर्भर, उदयमान खेलाडी तथा प्रशिक्षकलाई समेत सम्मान गरिनेछ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले गाउँपालिकाभित्र आयोजना हुने कार्यक्रमहरूमध्ये उच्च राशिको पुरस्कार रहेको प्रतियोगिता अध्यक्ष कप भएको बताउनुभयो। प्रतियोगितामा बढीभन्दा बढी सहभागिता सुनिश्चित गर्न टोली दर्ता निःशुल्क गरिएको र विभिन्न माध्यमबाट सूचना प्रवाह गरिएको उहाँको भनाइ छ।
गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव हुमबहादुर गुरुङका अनुसार पुरुषतर्फ पालिकाभित्रका जुनसुकै तहका खेलाडी सहभागी हुन पाउनेछन् भने महिलातर्फ एक जना राष्ट्रिय खेलाडी समावेश गर्न सकिने व्यवस्था गरिएको छ।


0 Post a Comment:
Post a Comment