Random Posts

  • This is Slide 1 Title

    This is slide 1 description. Go to Edit HTML and replace these sentences with your own words. This is a Blogger template by Lasantha - PremiumBloggerTemplates.com...

  • This is Slide 2 Title

    This is slide 2 description. Go to Edit HTML and replace these sentences with your own words. This is a Blogger template by Lasantha - PremiumBloggerTemplates.com...

  • This is Slide 3 Title

    This is slide 3 description. Go to Edit HTML and replace these sentences with your own words. This is a Blogger template by Lasantha - PremiumBloggerTemplates.com...

Tuesday, June 9, 2026

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोज ८ देखि १७ गतेसम्म हुने




नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) को तेस्रो संस्करण आगामी असोज ८ देखि १७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आयोजना हुने भएको छ।

आयोजक इन्फिनिटी ड्रिम्सले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सहभागी फ्रेन्चाइज टोली तथा सरोकारवालासँगको छलफलपछि प्रतियोगिताको मिति तय गरिएको जनाएको हो।

पछिल्लो समय नेपाली महिला भलिबलप्रति दर्शकको आकर्षण उल्लेखनीय रूपमा बढिरहेको उल्लेख गर्दै आयोजकले दशैंअघि आयोजना हुने लिगले खेलप्रेमीलाई खेलकुद र चाडपर्वको मनोरञ्जन एकैसाथ प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लिगका रूपमा परिचित ईडब्लुभिएलले नेपाली महिला भलिबलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकको दाबी छ। अघिल्ला दुई संस्करणको सफलतापछि तेस्रो संस्करणलाई अझ व्यवस्थित, परिष्कृत र भव्य बनाइने पनि जनाइएको छ।

प्रतियोगिताको पहिलो संस्करण काठमाडौंमा आयोजना भएको थियो भने दोस्रो संस्करण पोखरामा सुरु गरिएको थियो। तर केही प्राविधिक कारणले प्रतियोगिता बीचमै स्थगित भएपछि बाँकी खेल र फाइनल काठमाडौंमै सम्पन्न गरिएको थियो।

कर्णाली यश्विसले पहिलो र दोस्रो दुवै संस्करणको उपाधि जित्दै प्रतियोगितामा आफ्नो वर्चस्व कायम गरेको छ। दोस्रो संस्करणमा कर्णाली यश्विससँगै ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाले प्रतिस्पर्धा गरेका थिए।

एभरेष्ट महिला भलिबल लिगका टेक्निकल डाइरेक्टर जगदीश भट्टले तेस्रो संस्करण अघिल्ला संस्करणभन्दा अझ उत्कृष्ट र आकर्षक हुने विश्वास व्यक्त गरे।

“नेपालको महिला भलिबल अहिले एफआईभीबी विश्व वरीयतामा समावेश भएको छ, एसियाको शीर्ष १० भित्र पर्न सफल भएको छ र जापानमा हुने एसियन गेम्सका लागि पनि छनोट भएको छ। यस्तो अवस्थामा आयोजना हुन लागेको तेस्रो संस्करण अझ भव्य र प्रतिस्पर्धात्मक हुनेछ,” भट्टले भने।

उनले लिगले खेलाडीलाई आर्थिक रूपमा समेत लाभ पुर्‍याउने भएकाले नेपाली महिला भलिबलको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

राखेप कभर्डहलको स्तरोन्नतिपछि त्यहाँ काभा महिला भलिबल च्याम्पियनसिपसहित विभिन्न राष्ट्रियस्तरका प्रतियोगिता सफलतापूर्वक सम्पन्न भइसकेकाले यसपटक पनि काठमाडौंमै लिग आयोजना गर्न लागिएको आयोजकले जनाएको 

Friday, June 5, 2026

राष्ट्रपति रनिङ शिल्डमा गण्डकीको गौरवपूर्ण सफलता, लगातार दोस्रो पटक भलिबलको स्वर्ण जित्दै उपाधि रक्षा


 


१६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत छात्र भलिबलतर्फ गण्डकी प्रदेशले उत्कृष्ट पुनरागमन गर्दै स्वर्ण पदक जितेको छ। शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न रोमाञ्चक फाइनलमा लुम्बिनी प्रदेशलाई ३–२ सेटले पराजित गर्दै गण्डकीले लगातार दोस्रो पटक च्याम्पियन बन्ने गौरव हासिल गरेको हो।


गत संस्करणको विजेता समेत रहेको गण्डकीले यस जितसँगै आफ्नो उपाधि सफलतापूर्वक रक्षा गरेको छ। टोलीका व्यवस्थापक लेखनाथ लम्सालका अनुसार कठिन परिस्थितिबाट खेलमा फर्किँदै गण्डकीले स्वर्ण पदक जित्न सफल भएको हो।


फाइनल खेलको सुरुआत भने गण्डकीका लागि सुखद रहेन। लुम्बिनीले पहिलो सेट २५–२० तथा दोस्रो सेट २६–२४ ले जित्दै खेलमा २–० को अग्रता बनाएको थियो। लगातार दुई सेट गुमाएपछि गण्डकी दबाबमा परेको देखिए पनि टोलीले असाधारण आत्मविश्वास र संयम प्रदर्शन गर्दै खेलमा शानदार पुनरागमन गर्यो।


तेस्रो सेटमा गण्डकीले आक्रामक खेल प्रस्तुत गर्दै २५–२३ को जित निकाल्यो। त्यसपछि चौथो सेटमा पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै २५–१७ ले आफ्नो पक्षमा पार्यो र खेललाई २–२ को बराबरीमा ल्यायो।


निर्णायक पाँचौं तथा अन्तिम सेटमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि गण्डकीले महत्वपूर्ण क्षणहरूमा उत्कृष्ट प्रदर्शन गर्दै १५–११ को जित निकाल्यो। अन्ततः ३–२ को समग्र जितसहित गण्डकीले स्वर्ण पदक आफ्नो नाममा लेखाउन सफल भयो।


प्रतियोगितामा गण्डकीका खेलाडीहरूले दबाबपूर्ण अवस्थामा समेत उत्कृष्ट खेल कौशल, संयम र टिमवर्क प्रदर्शन गरेका थिए। विशेषगरी पछिल्ला तीन सेटमा टोलीले देखाएको पुनरागमन क्षमताले दर्शक तथा समर्थकहरूको मन जित्न सफल भयो।


यस सफलतासँगै गण्डकी प्रदेशले विद्यालयस्तरीय राष्ट्रिय खेलकुदमा आफ्नो प्रभुत्व कायम राख्दै भलिबलमा लगातार दोस्रो स्वर्ण पदक जित्ने उपलब्धि हासिल गरेको छ।


यता छात्रा भलिबलतर्फ भने गण्डकी प्रदेश अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा पदक दौडबाट बाहिरिँदै चौथो स्थानमा सीमित रह्यो।

Monday, June 1, 2026

साफ महिला च्याम्पियनसिप: सेमिफाइनल समीकरण पूरा, नेपालले बंगलादेशसँग खेल्ने


 भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणका सबै खेल सम्पन्न भएसँगै अन्तिम चारमा पुग्ने टोलीहरूको टुंगो लागेको हो।

समूह ‘ए’ बाट नेपाल दुवै खेलमा जित निकाल्दै समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको छ। सोही समूहबाट भुटान एक जित र एक हारसहित उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो।

यता समूह ‘बी’ बाट आयोजक भारतले पनि दुवै खेल जित्दै समूह विजेताको रूपमा सेमिफाइनल यात्रा तय गरेको छ। बंगलादेश एक जित र एक हारसहित समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

अब पहिलो सेमिफाइनलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा भारत र भुटान आमनेसामने हुनेछन्। दुवै सेमिफाइनल खेल बुधबार हुने तालिका छ।

प्रतियोगिताको उपाधि भिडन्त अर्थात् फाइनल खेल आगामी शुक्रबार आयोजना गरिनेछ।

Friday, May 29, 2026

काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानले जितेको छ।

 


काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानले जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार सम्पन्न फाइनल खेलमा काजकस्तानलाई ३–१ को सेटमा पराजित गर्दै इरान च्याम्पियन बनेको हो।

इरानले काजकस्तानमाथि २५–१८, १९–२५, २५–१५ र २५–२१ को जित निकाल्दै उपाधि आफ्नो नाममा गर्‍यो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको इरानले समूह चरणमै पनि काजकस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो।

सेमिफाइनलमा इरानले घरेलु टोली नेपाललाई सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने काजकस्तानले भारतलाई हराएर उपाधि भिडन्त पक्का गरेको थियो।

यता घरेलु टोली नेपाल भने यसपटक पदकविहीन बन्न पुगेको छ। तेस्रो स्थानका लागि भएको खेलमा भारतसँग ३–१ को सेटमा पराजित भएपछि नेपाल चौथो स्थानमा सीमित भयो। भारतले नेपाललाई २५–२२, २५–२३, १५–२५ र २५–२२ ले हराएको हो।

नेपालले तेस्रो सेट जित्दै खेलमा फर्कने संकेत गरे पनि निर्णायक क्षणमा कमजोर प्रदर्शन गर्दा हार व्यहोर्न बाध्य भयो। यसअघि समूह चरणमा पनि भारतसँग नेपाल ३–२ को सेटमा पराजित भएको थियो।

काठमाडौंमा आयोजना भएका पछिल्ला तीन काभा महिला भलिबल प्रतियोगितामध्ये नेपाल पहिलो पटक पदकविहीन बनेको हो। नेपालले सन् २०२४ को संस्करणमा रजत पदक जितेको थियो भने त्यसअघि कास्य पदक हात पारेको थियो।

Saturday, May 23, 2026


 फ्रेन्डसीप युवा एकताद्वारा संस्था स्थापनाको अवसरमा आयोजित प्रथम फ्रेन्डसीप कप-२०८३ (क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता) को पत्रकार सम्मेलन मिति २०८३ जेठ १० गते दिउँसो ३:०० बजे रहेको छ।

यो प्रतियोगिताको सबै खेलहरुको प्रत्यक्ष प्रसारण Khel Khabar युट्युब च्यानलमार्फत हेर्न सक्नुहुनेछ। प्रतियोगिता यहि मिति २०८३ जेठ १३ गते देखि १७ गते सम्म पोखरा-३, नदिपुर (छन्त्याल समाज) को खेलमैदानमा सञ्चालन हुनेछ।

नेपालको पहिलो जित, सेमिफाइनलको सम्भावना बलियो


 

नेपालले काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा पहिलो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको खेलमा नेपालले कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । नेपालले २५-१८, २५-२० र २५-१३ ले खेल आफ्नो पक्षमा पार्यो ।

सुरुवातदेखि नै आक्रामक देखिएको नेपालले खेलभर दबाब कायम राखेको थियो । नेपालको जितमा उत्कृष्ट प्रदर्शन गरेकी सुमित्रा रेग्मी प्लेयर अफ दि म्याच घोषित भइन् ।

यो जितसँगै नेपाल समूह ‘ए’ मा ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ । भारत ५ अंकसहित शीर्ष स्थानमा रहँदा कीर्गिस्तान ३ अंकसहित तेस्रो र माल्दिभ्स अंकविहीन रहेको छ ।

नेपालले अब आइतबार माल्दिभ्ससँग खेल्नेछ । उक्त खेल जिते नेपाल सेमिफाइनलमा पुग्नेछ ।

यसअघि शनिबार नै भएको अन्य खेलमा भारतले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको थियो । त्यस्तै, कजाकस्तानले श्रीलंकामाथि पनि सोझो सेटमा जित निकालेको छ ।


काभामा नेपाल भारतसँग ३-२ को सेटमा पराजित

 घरेलु मैदानमा सुरु काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा नेपालले हारबाट सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भयो।


नेपालले पहिलो सेट २५-२१ ले जिते पनि भारतले लगातार दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पार्दै अग्रता बनायो। नेपालले चौथो सेट जितेर खेल बराबरीमा ल्याए पनि निर्णायक पाँचौं सेट १५-९ ले भारतले जित्यो।

यो खेलमा निरूता ठगुन्नाले पहिलो पटक नेपालको कप्तानी सम्हालिन्। नेपालले भोलि किर्गिस्तानसँग खेल्नेछ।

यसअघि इरानले बङ्गलादेशलाई ३-० को सोझो सेटमा हराएको थियो।

एफआईभीबी र्‍याङ्किङसँग जोडिएको प्रतियोगितामा ८ राष्ट्र सहभागी छन्। नेपाल समूह ‘ए’ मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ। प्रतियोगिताका खेल डिगो एपमार्फत हेर्न सकिनेछ।

Sunday, May 10, 2026

काठमाडौंमा 'काभा' पुरुष भलिबल च्याम्पियनसिपको रौनक: ८ राष्ट्रबीच कडा प्रतिस्पर्धा हुने

 काठमाडौं – नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतका पदाधिकारीहरूले आगामी अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आकर्षक ट्रफी सार्वजनिक गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आयोजना हुने यस प्रतियोगिताले नेपाली खेलकुदमा नयाँ उत्साह थपेको छ।

प्रतियोगिताको विवरण र सहभागी राष्ट्रहरू

जेठ ८ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने यस 'सेन्ट्रल एसियन' भलिबल प्रतियोगितामा आयोजक नेपालसहित दक्षिण र मध्य एसियाका ८ बलिया राष्ट्रहरू भिड्नेछन्। ट्रफीका लागि दाबेदारी प्रस्तुत गर्ने देशहरूमा:

  • नेपाल (आयोजक)

  • भारत, इरान, र श्रीलंका

  • किर्गिस्तान, बङ्गलादेश, मालदिभ्स र कजाकिस्तान

विश्व वरीयतामा ठूलो महत्व

यो प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ (FIVB) को आधिकारिक विश्व र्‍याङ्किङमा समावेश गरिएको छ। त्यसैले, सहभागी सबै राष्ट्रहरूका लागि आफ्नो अन्तर्राष्ट्रिय स्तर सुधार्न यो प्रतियोगिता निकै महत्वपूर्ण र निर्णायक रहनेछ।

सरकारी र स्थानीय निकायको सहयोग

प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न ठूलो आर्थिक लगानी गरिएको छ। संघका अनुसार:

  • नेपाल सरकारबाट १ करोड रुपैयाँ सहयोग प्राप्त भएको छ।

  • काठमाडौं महानगरपालिकाले ३० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराएको छ।

अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू राजधानीमा भेला हुने भएकाले यस खेल महोत्सवले नेपाली भलिबलको स्तरलाई विश्वसामु चिनाउने र खेल पर्यटनमा समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ। Photo: HamroKhelkud


Monday, April 27, 2026

पुलिसको जित

 नेपाल पुलिस क्लबले दसौं पिएम कप एनभिए लिगको पाँचौ दिन सोमवार जित निकालेको छ।

अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै पुलिसले लिगको तेस्रो जित दर्ता गरेको हो। पहिलो सेट २५-२१ गुमाएको पुलिसले त्यसपछि २५-१५,२५-१५,२५-१५ ले हराएको थियो। यसअघि पुलिसले २ खेल जितेको थियो।


Monday, March 23, 2026

अध्यक्ष कप भलिबल: माछापुच्छ्रे गाउँपालिका खेलमय!


 कास्कीको माछापुच्छ्रे गाउँपालिका यतिबेला खेलकुदमय बनेको छ। चैत ११ नजिकिँदै जाँदा लाहाचोकस्थित खेल मैदानमा चहलपहल बढ्दै गएको छ। स्थानीय युवा देखि खेलप्रेमीहरूसम्म सबैको ध्यान अहिले ‘अध्यक्ष कप भलिबल प्रतियोगिता’मा केन्द्रित भएको छ।

गाउँपालिकाको खेलकुद विकास समितिको आयोजनामा हुन लागेको चौथो संस्करणको गण्डकी प्रदेश स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसपटक खेल मात्र नभई गाउँपालिकाको पहिचान, ऊर्जा र सम्भावनाको प्रतीकका रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।

गाउँपालिकाले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रतियोगिताप्रति बढ्दो उत्साह झल्किने गरी हालसम्म पुरुषतर्फ १६ र महिलातर्फ ८ टोलीले नाम दर्ता गरिसकेका छन्। आयोजकहरूले अन्तिम समयसम्म अझ बढी टोली सहभागी हुने विश्वास व्यक्त गरेका छन्।

गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले खेलकुदलाई प्रतिस्पर्धामात्र नभई विकासको माध्यमका रूपमा लिने गरिएको बताउनुभयो। उहाँका अनुसार यस प्रतियोगिताले गाउँपालिकाभित्र खेलकुद संस्कृतिलाई मजबुत बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतियोगितामा आकर्षक पुरस्कार राशिको व्यवस्था गरिएको छ। पुरुषतर्फ विजेताले २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने दुई टोलीलाई जनही २५/२५ हजार रुपैयाँ प्रदान गरिनेछ।

यस्तै महिलातर्फ विजेताले ६० हजार रुपैयाँ, उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने दुई टोलीलाई जनही १५/१५ हजार रुपैयाँ प्रदान गरिने गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिनुभयो।

यस वर्षको विशेष आकर्षणका रूपमा ‘पुरुष छेलो’ प्रतियोगिता पनि समावेश गरिएको छ। स्थानीय स्तरमा लोकप्रिय यस खेलले प्रतियोगितामा थप रोचकता ल्याउने तथा स्थानीय संस्कृति र परम्पराको संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ। छेलोतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेले क्रमशः १० हजार, ५ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने यसतर्फ दर्ता निःशुल्क राखिएको छ।

प्रतियोगितामा पुरुष तथा महिला भलिबलतर्फ विभिन्न विधामा उत्कृष्ट खेलाडी, स्पाइकर, मिडिल ब्लकर, डिफेन्डर, सेटर, सर्भर, उदयमान खेलाडी तथा प्रशिक्षकलाई समेत सम्मान गरिनेछ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले गाउँपालिकाभित्र आयोजना हुने कार्यक्रमहरूमध्ये उच्च राशिको पुरस्कार रहेको प्रतियोगिता अध्यक्ष कप भएको बताउनुभयो। प्रतियोगितामा बढीभन्दा बढी सहभागिता सुनिश्चित गर्न टोली दर्ता निःशुल्क गरिएको र विभिन्न माध्यमबाट सूचना प्रवाह गरिएको उहाँको भनाइ छ।

गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव हुमबहादुर गुरुङका अनुसार पुरुषतर्फ पालिकाभित्रका जुनसुकै तहका खेलाडी सहभागी हुन पाउनेछन् भने महिलातर्फ एक जना राष्ट्रिय खेलाडी समावेश गर्न सकिने व्यवस्था गरिएको छ।

Wednesday, February 18, 2026

टि ट्वान्टी विश्वकपमा १२ वर्षपछि नेपालको जित


 नेपालले आईसीसी टी–२० विश्वकपको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै सान्त्वनाजनक जित हात पारेको छ। मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा १७१ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

यो जितसँगै नेपालले सन् २०१४ पछि पहिलो पटक विश्वकपमा खेल जित्दै १२ वर्षको लामो प्रतीक्षा तोडेको छ। विश्वकप यात्राको सुखद अन्त्य गर्न नेपाल सफल भएको हो।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरी र गुलशन झाको अविजित साझेदारी निर्णायक बन्यो। चौथो विकेटका लागि उनीहरूले ७३ रनको साझेदारी गर्दै टोलीलाई लक्ष्यसम्म पुर्‍याए। दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अर्धशतक पूरा गर्दै ५० रनमा अविजित रहे। गुलशनले १७ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २४ रन बनाए।

यसअघि ओपनर कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गर्दै बलियो आधार तयार पारेका थिए। कुशलले ३५ बलमा १ चौका र ६ छक्कासहित ४३ रन बनाए भने आशिफले २७ बलमा २ छक्कासहित ३३ रनको योगदान दिए। कप्तान रोहित पौडेलले १४ बलमा १६ रन जोडे।

बलिङतर्फ स्कटल्यान्डका माइकल लिस्कले तीन विकेट लिए।

टस जितेर फिल्डिङ रोजेको नेपालविरुद्ध पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो। स्कटल्यान्डका लागि माइकल जोन्सले ४५ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ७१ रन बनाए। जर्ज मुन्सेले २७ रनको योगदान दिए।

नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चिएर ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिए भने कप्तान रोहित पौडेल र कुशल भुर्तेलले समान १–१ विकेट हात पारे।

यस जितसँगै नेपालले सन् २०१४ मा हङकङ र अफगानिस्तानलाई पराजित गरेपछि पहिलो पटक विश्वकपमा जित दर्ता गर्न सफल भएको छ।

Thursday, February 12, 2026

काभा वुमन्स लिगमा नेपाल पुलिस क्लबलाई कास्य पदक !!


 माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा सम्पन्न प्रतियोगितामा नेपाल पुलिस क्लबले श्रीलंकाको हिर्दारामानी क्लबलाई ३-१ सेटले पराजित गर्दै कास्य पदक जित्न सफल भएको छ।

पहिलो सेट २१-२५ ले गुमाए पनि पुलिसले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछि लगातार तीन सेट आफ्नो पक्षमा पार्‍यो।
✅ दोस्रो सेट: २५-१२
✅ तेस्रो सेट: २५-१६
✅ चौथो सेट: २५-२२

सेमिफाइनलमा काजकिस्तानको तुरान भलिबल क्लबसँग ३-० ले पराजित हुँदै उपाधि दौडबाट बाहिरिएको पुलिसले अन्ततः तेस्रो स्थान सुरक्षित गर्दै नेपालको शान उचो राख्न सफल भयो।

नेपाल च्याम्पियनका रूपमा प्रतियोगितामा सहभागिता जनाएको पुलिसको यो उपलब्धि नेपाली भलिबलका लागि गर्वको विषय बनेको छ।

विश्वकपमा नेपाललाई ठूलो झट्का – इटालीसँग १० विकेटले पराजय


आईसीसी टि ट्वान्टी विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिर्सनलायक प्रदर्शन गरेको छ। पहिलो पटक विश्वकप खेलिरहेको इटालीसँग नेपाल १० विकेटले पराजित भएको हो।

१२४ रनको सामान्य लक्ष्य इटालीले मात्र १२.४ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्‍यो। मोस्का दाजुभाइ एन्थोनी (३२ बलमा ६२*) र जस्टिन (४४ बलमा ६०*) ले शतकीय साझेदारी गर्दै नेपाललाई पूर्ण रूपमा दबाबमा राखे।

यसअघि ब्याटिङमा नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो।
🔹 आरिफ शेख – २७ रन
🔹 कप्तान रोहित पौडेल – २३ रन (२ छक्का)
🔹 आशिफ शेख – २० रन
🔹 दिपेन्द्र सिंह ऐरी – १७ रन
🔹 करण केसी – १८*

इङ्ल्यान्डसँग पहिलो खेलमा ४ रनको झिनो अन्तरले पराजित भएको नेपालले आज भने समर्थकलाई निराश बनायो। यो हारसँगै नेपालको सुपर–८ सम्भावना कमजोर बनेको छ।

अब बाँकी खेलमा उत्कृष्ट पुनरागमन गर्न नसके प्रतियोगिताबाट बाहिरिने खतरा बढ्नेछ।

Thursday, February 5, 2026

नेपाल पुलिसको विजयी सुरुवात | हुमो भिसी ३–१ ले पराजित


 नेपाल पुलिस क्लबले काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

माल्दिभ्समा जारी प्रतियोगिताको पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भिसीलाई ३–१ को सेटमा पराजित गरेको हो।

साविक विजेता समेत रहेको पुलिसले ३०–२८, २१–२५, २५–२१ र २५–२३ को सेट स्कोरसहित महत्वपूर्ण जित निकालेको छ।
समूह ‘बी’ मा रहेको पुलिसले अब इरानको फुलाड एमएस र आयोजक माल्दिभ्सको हुर्रा सिसीसँग खेल्नेछ।

उपाधि रक्षाका लागि पुलिसले सलिना श्रेष्ठ, सुमित्रा रेग्मी र मिना सुनारलाई टोलीमा अनुबन्ध गरेको छ।

Wednesday, February 4, 2026

न्यु डायमण्डकी स्टार प्रतिभा माली अस्ट्रेलिया फर्किइन्, स्वदेशी बसाइँमा ट्रिपल उपाधि

 न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी प्रतिभा माली फेरि अस्ट्रेलिया फर्किएकी छिन्। अध्ययनका लागि गत वर्ष अस्ट्रेलिया गएकी प्रतिभा एक महिनाभन्दा बढी समय स्वदेशमा बिताएर आज फर्किएकी हुन्।

यो बसाइँ प्रतिभा र न्यु डायमण्ड दुवैका लागि सम्झनलायक बन्यो। स्वदेश फर्किएको छोटो समयमै उनले न्यु डायमण्डबाट तीन ठूला प्रतियोगितामा सहभागिता जनाइन् र तीनै प्रतियोगितामा टोलीलाई च्याम्पियन बनाइन्। काठमाडौंमा सम्पन्न नवौं एनभिए क्लब च्याम्पियनसिप, केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता र गत साता भएको छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपमा न्यु डायमण्डले उपाधि जित्यो।

विशेषगरी टाइगर कप न्यु डायमण्डका लागि ऐतिहासिक बन्यो। क्लबले यो प्रतियोगिता पहिलो पटक जित्दा प्रतिभाको योगदान निर्णायक रह्यो। यो उपाधि मात्र होइन, त्यो एक सपना पूरा भएको क्षणजस्तै थियो।

व्यक्तिगत रूपमा पनि यो यात्रा प्रतिभाका लागि अत्यन्तै सफल रह्यो। एनभिए र केएनपी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी उनी टाइगर कपमा उत्कृष्ट स्पाइकर बन्न सफल भइन्। टोलीको सफलता र आफ्नै उत्कृष्ट प्रदर्शनले यो बसाइँलाई प्रतिभाका लागि भावनात्मक र अविस्मरणीय बनायो।

स्वदेशमा सीमित समय, तर अमिट छाप छोडेर प्रतिभा फेरि अध्ययनतर्फ फर्किएकी छिन्। उनी न्यु डायमण्डका लागि केवल खेलाडी मात्र होइनन्, प्रेरणाको प्रतीक बनेर फर्किएकी छिन्।


Tuesday, February 3, 2026

उपाधि रक्षा अभियानमा नेपाल पुलिस, काभा लिगको पहिलो खेल हुमो भिसीसँग


 नेपाल पुलिस क्लबले काभा लिग महिला भलिबल प्रतियोगितामा उपाधि रक्षा गर्ने अभियान सुरु गर्न लागेको छ। पुलिसले पहिलो खेल उज्वेकिस्तानको हुमो भिसीसँग बिहीबार खेल्नेछ।

काभा क्लब च्याम्पियनसिपको पहिलो संस्करण जितेको पुलिस यसपटक समूह ‘बी’ मा परेको छ। समूह चरणमा पुलिसले शुक्रबार इरानको फुलाड एमएससँग र अन्तिम खेल आयोजक माल्दिभ्सको हुर्रा सिसीसँग खेल्नेछ।

समूह ‘ए’ मा माल्दिभ्सको हुम्को, श्रीलंकाको हिर्दारामानी एससी र काजकिस्तानको तुरान एफसी रहेका छन्। सबै टोलीले एक–आपसमा खेलेपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

उपाधि रक्षा गर्ने लक्ष्यसहित पुलिसले टोलीलाई बलियो बनाएको छ। यसका लागि टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी सलिना श्रेष्ठ र सुमित्रा रेग्मी तथा एभरेष्ट क्लबकी मिना सुनारलाई अनुबन्ध गरेको छ।

गत वर्ष पुलिसले एपिएफ क्लबकी सरस्वती चौधरी र निरुता ठगुन्नालाई पनि टोलीमा समेटेको थियो।

काभा लिगका लागि नेपाल पुलिस क्लवका खेलाडीहरुलाई अग्रिम शुभकामना छ ।



 काभा लिगका लागि नेपाल पुलिस क्लवका खेलाडीहरुलाई अग्रिम शुभकामना छ ।