Random Posts

Tuesday, June 9, 2026

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोज ८ देखि १७ गतेसम्म हुने




नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) को तेस्रो संस्करण आगामी असोज ८ देखि १७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आयोजना हुने भएको छ।

आयोजक इन्फिनिटी ड्रिम्सले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सहभागी फ्रेन्चाइज टोली तथा सरोकारवालासँगको छलफलपछि प्रतियोगिताको मिति तय गरिएको जनाएको हो।

पछिल्लो समय नेपाली महिला भलिबलप्रति दर्शकको आकर्षण उल्लेखनीय रूपमा बढिरहेको उल्लेख गर्दै आयोजकले दशैंअघि आयोजना हुने लिगले खेलप्रेमीलाई खेलकुद र चाडपर्वको मनोरञ्जन एकैसाथ प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लिगका रूपमा परिचित ईडब्लुभिएलले नेपाली महिला भलिबलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकको दाबी छ। अघिल्ला दुई संस्करणको सफलतापछि तेस्रो संस्करणलाई अझ व्यवस्थित, परिष्कृत र भव्य बनाइने पनि जनाइएको छ।

प्रतियोगिताको पहिलो संस्करण काठमाडौंमा आयोजना भएको थियो भने दोस्रो संस्करण पोखरामा सुरु गरिएको थियो। तर केही प्राविधिक कारणले प्रतियोगिता बीचमै स्थगित भएपछि बाँकी खेल र फाइनल काठमाडौंमै सम्पन्न गरिएको थियो।

कर्णाली यश्विसले पहिलो र दोस्रो दुवै संस्करणको उपाधि जित्दै प्रतियोगितामा आफ्नो वर्चस्व कायम गरेको छ। दोस्रो संस्करणमा कर्णाली यश्विससँगै ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाले प्रतिस्पर्धा गरेका थिए।

एभरेष्ट महिला भलिबल लिगका टेक्निकल डाइरेक्टर जगदीश भट्टले तेस्रो संस्करण अघिल्ला संस्करणभन्दा अझ उत्कृष्ट र आकर्षक हुने विश्वास व्यक्त गरे।

“नेपालको महिला भलिबल अहिले एफआईभीबी विश्व वरीयतामा समावेश भएको छ, एसियाको शीर्ष १० भित्र पर्न सफल भएको छ र जापानमा हुने एसियन गेम्सका लागि पनि छनोट भएको छ। यस्तो अवस्थामा आयोजना हुन लागेको तेस्रो संस्करण अझ भव्य र प्रतिस्पर्धात्मक हुनेछ,” भट्टले भने।

उनले लिगले खेलाडीलाई आर्थिक रूपमा समेत लाभ पुर्‍याउने भएकाले नेपाली महिला भलिबलको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

राखेप कभर्डहलको स्तरोन्नतिपछि त्यहाँ काभा महिला भलिबल च्याम्पियनसिपसहित विभिन्न राष्ट्रियस्तरका प्रतियोगिता सफलतापूर्वक सम्पन्न भइसकेकाले यसपटक पनि काठमाडौंमै लिग आयोजना गर्न लागिएको आयोजकले जनाएको 

0 Post a Comment:

Post a Comment